राष्ट्रिय सभा निर्वाचनका लागि आयोगद्वारा दल दर्ता आह्वान
दर्ताका लागि मंसिर उनान्तिस गतेसम्मको समयसीमा
माघ एघार गते हुने राष्ट्रियसभा चुनावका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै आयोगले आगामी आईतबारदेखि मंसिर २९ गतेसम्म दल दर्ता गर्न भनेको हो । चुनावी कार्यतालिकाअनुसार पुस १ गते दलहरूलाई चुनाव चिह्न प्रदान गरिनेछ । यस्तै पुस ४ गते दर्ता भएका दलहरूको अन्तिम नामावली प्रकाशित हुनेछ । पुस १६ गते चुनावका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ । पुस २० गतेदेखि २९ गतेसम्म मतदाता नामावलीको नाम प्रकाशित गर्ने, त्यसमाथि दाबी विरोध तथा उजुरीहरू लिने, अन्तिम नामावली प्रकाशित गर्ने, उम्मेदवारको मनोनयन दर्ता गर्ने, त्यसमाथि दाबी, विरोध, उजुरी लिने, त्यसमा जाँचबुझ गर्ने, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने, फिर्ता लिने लगायतका कामहरू हुने आयोगले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयले प्रदेशको राजधानीमा अनुकूल हुनेगरी मतदानस्थल तोक्नेछ । माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । फागुन २० गते रिक्त हुने २० जना राष्ट्रियसभा सदस्यमध्ये १९ वटा पदका लागि सरकारले माघ ११ गते चुनावको मिति घोषणा गरेको हो । रिक्त १ जना राष्ट्रियसभा सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक व्यवस्था छ ।।
प्रतिक्रिया