एनसेल प्रकरण छानबीन गर्न सरकारद्वारा पाँच सदस्यीय उच्चस्तरीय छानविन समिति गठन

काठमाडौ । सरकारले एनसेलको सेयर खरिद बिक्री प्रकरणको छानबिन गर्न समिति बनाएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिको सस्यहरूमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेका छन । समितिलाई ३० दिनको कार्यवधि दिइएको छ ।
त्यस्तै सरकारले नेपाली सेनाको रिक्त एक रथी पदमा बरिष्ठतम उपरथीमा अशोकराज सिग्देल बढुवा गरेको छ । बढुवा भएसँगै प्रभुराम शर्मापछि सिग्देल प्रधान सेनापति हुने निश्चित भएको छ । उनी बरिष्ठतम रथीका रुपमा रहने भएकाले आगामी वर्षको भदौमा प्रधान सेनापति हुनेछन । 
मन्त्रिपरिषद बैठकले सन्तोषबल्लभ पौडेललाई उपरथीमा बढुवा गरेको छ । त्यस्तै, सरकारले विश्वबैंकबाट प्रादेशिक तथा स्थानीय सडक उद्धार कार्यक्रम पहिलो चरणका लागि प्राप्त सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्न अख्तियारी दिने निर्णयसमेत गरेको छ । त्यस्तै सरकारले खोनपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई र सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
 

प्रतिक्रिया