आजियाटाले नेपालको कानुन पालना गर्ने प्रतिबद्धता जनाएको छ: दुरसञ्चार प्राधिकरण
एनसेलको शेयर बिक्री गर्दा आजियाटाले नेपालको कानुन उलङ्घन गरेको हुने आशङ्का गरिरहेको अवस्थामा एनसेल आजियाटाले नेपालको कानुन पालना गर्ने प्रतिबद्धता जनाएको छ । आजियाटाको सेयर पेट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको विषयमा गम्भीर प्रश्न उठेपछि नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई सोधेको प्रश्नमा एनसेल कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले आफ्नो कानुनी कर्तव्यपालन गर्न कटिबद्ध भएको जवाफ पठाएको हो । कारोबारको विषयमा प्रश्न उठेपछि अर्थ समितिले आज गरेको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलले पठाएको जवाफबारे जानकारी गराएका हुन । खरिद मूल्य भन्दा निकै कम मूल्यमा आजियाटाले एनसेलको सेयर बिक्री गरेको सार्वजनिक गरे पछि प्राधिकरणले मङ्सिर १५ गते एनसेललाई सेयर किनबेच अघि स्वीकृति लिन निर्देशन दिँदै पत्र लेखेको थियो । एनसेलले पठाएको जवाफी पत्रमा दुई पक्षीय सम्झौताका कागजातहरू सम्बन्धित पक्षबाट छलफलका क्रममा रहेको पनि प्राधिकरणले जनाएको छ । अध्यक्ष खनालले शेयर खरिदबिक्री शंकास्पद देखिएमा प्राधिकरणले थप छानबिन गर्ने पनि जानकारी दिए । प्राधिकरणको दुई अर्ब २५ करोड बेरुजु बक्यौताबारे पनि समितिले प्राधिकरणसँग जवाफ मागेको थियो । सो सन्दर्भमा विभिन्न नौ वटा दूरञ्चार सेवा प्रदायक कम्पनीबाट असुल उपर गरिनुपर्ने बक्यौता तीन महिनाभित्र बुझाउन भनिएको प्राधिकरणले जनाएको छ । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले एनसेलको व्यवस्थापनलाई अर्थसमितिमा बोलाएर जानकारी माग्नुपर्ने बताए । यस प्रकरणले नेपालमा लगानी गर्न चाहेने विदेशी लगानीकर्तामाझ नकारात्मक सन्देश जाने वाग्लेको भनाइ थियो । बैठकमा सांसदहरु दीपक खड्का, विराजभक्त श्रेष्ठ, गंगा कार्की, पूर्णबहादुर तामाङलगायतले एनसेल खरिदबिक्री प्रकरणबारे गम्भीर छानबिन गरिनुपर्ने धारणा राखे ।।
प्रतिक्रिया