काठमाडौमा अवैधरूपमा चलिरहेका औषधि पसललाई सचेत हुन महानगरको ध्यानाकर्षण
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र अवैधरूपमा चलिरहेका औषधि पसललाई सचेत गराएको छ । अनधिकृत व्यक्तिले औषधि बेचिरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधीसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सनविना बिक्री भइरहेको गुनासो आइरहेको भन्दै प्रमुख बालेन शाहले त्यस्ता पसलहरूले तत्काल सुधारात्मक कदम चाल्न ध्यानाकर्षण गराएका हुन । उनले मंसिर २९ भित्र आवश्यक कानूनी तथा व्यवस्थापकीय प्रक्रिया पूरा नगर्ने औषधि पसल बन्द गरिने जानकारी गराएका छन् । आम मानिसको जनस्वास्थ्यमा लापरबाही भएको भन्दै महानगरले औषधि पसलमा निगरानी बढाउने जनाएको हो । महानगरपालिकाभित्र सञ्चालनमा रहेका औषधि पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सनबिना औषधि बिक्री वितरण भइरहेको महानगरमा गुनासो आइरहेको महानगर प्रमुख साहको भनाइ छ । सञ्चालित औषधि पसलहरूले सुधारात्मक कार्यहरू गरेको नपाइएमा स्थानीय सरकार सञ्चालन ऐन तथा काठमाडौं महानगरपालिका जन–स्वास्थ्य ऐन अनुसार कारबाही हुने बताइएको छ ।
प्रतिक्रिया