एनसेलको शेयर बिक्रीबारे संसदीय समितिको चासो, सरोकारवालासँग छलफल गर्दै

संसदीय समितिहरुले मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको शेयर बिक्रीबारे आज छलफल गर्दैछन् । प्रतिनिधि सभा अन्तर्गत रहेका अर्थ समिति र सार्वजनिक लेखा समितिमा आज एनसेलको शेयर बिक्री प्रकरणबारे छलफल हुन लागेको हो । अर्थ समितिले दुरसञ्चार प्राधिकरणलाई बोलाएर एनसेल र नेपाल टेलिकमको राजस्वका बारेमा छलफल गरिरहेको छ । अर्थ समितिले छलफलका लागि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पनि बोलाएको छ । प्राधिकरणका पदाधिकारीसँग दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूबाट प्राप्त हुने रोयल्टी, राजस्वको तथ्यांक र स्थितिबारे  छलफल गर्ने कार्यसूचि छ । आजै  सार्वजनिक लेखा समितिले दिउसो दुई बजेपछि एनसेल खरिद बिक्रीका बारेमा सरोकारवाला पक्षसँग छलफल गर्ने भएको छ । समितिले यसअघि एनसेलको शेयर बिक्रीबारे विभिन्न नौ वटा प्रश्न गर्दै नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्टरको कार्यालय र आन्तरिक राजस्व विभागलाई पत्र पठाएको थियो । लेखा समितिले मलेसियन टेलिकम कम्पनी आजियाटा ग्रुपले एनसेलमा रहेको आफ्नो शेयर बिक्री गरेको विषयमा आधिकारिक जानकारी, सेयर खरिद–बिक्री वा हक हस्तान्तरण गर्दा कम्पनीले सेवा प्रवाह गरिरहेको मुलुकको कानुनी व्यवस्था परिपालना गर्नुपर्ने हो कि होइन, दूरसञ्चार प्राधिकरणको अनुमति वा स्वीकृति प्राप्त गर्नुपर्ने कानुनी प्रावधान पूरा भएको छ वा छैन भन्नेमा चासो देखाएको छ । त्यस्तै समिसितले यसअघि भएको कारोबारभन्दा निकै कम मूल्यमा होल्डिङ कम्पनीबीच सेयर कारोबार वा स्वामित्व हस्तान्तरण सम्झौता हुनुको कारणलाई नियमनकारी निकायले कुन रूपमा लिएको छ भन्ने बारेमा पनि छलफल गर्ने भएको हो । निजी टेलिकम कम्पनी एनसेलको मुख्य लगानीकर्ता आजियाटाले आफ्नो ८० प्रतिशत सेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई बेचेपछि त्यसमा आर्थिक अनियमितताको आशंका देखिएको छ ।। 
 

प्रतिक्रिया