प्यालेस्टाइनको गाजापट्टीमा मानवीय संकट खराब अवस्थामा: डब्लूएचओ

विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले गाजापट्टीमा मानवीय स्थिति एकदमै खराब रहेको भन्दै चिन्ता प्रकट गरेको छ । डब्लूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले गाजापट्टीको स्थिति झन् झन् बिग्रिदै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले गाजा मानवताको ‘सबैभन्दा अन्धकार समय’ नजिक पुगेको टिप्पणी गरेका छन् । पछिल्लो समय गाजाको दक्षिणी इलाकासहित चारैतिर तीव्र बमबारी भइरहेको छ । डब्लुएचओले दिगो युद्धविरामको आवश्यकता औंल्याउदै मूर्खतापूर्ण क्षति रोक्न माग गरेको छ । हमासको आक्रमणमा परी इजराइलमा एक हजार दुई सय जनाको मृत्यु भएपछि गाजामा निरन्तर आक्रमण हुँदै आएको छ । इजरायलले हमासलाई समाप्त पार्ने र सबै बन्धकलाई हमासको कब्जाबाट मुक्त गराउने भन्दै बमबारी जारी राखेको हो । इजरायलको आक्रमणमा परी हालसम्म गाजामा १५ हजार नौ सय मानिस मारिएको बताइएको छ । मारिनेहरू मध्ये २ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी रहेका छन । इजरायलको आक्रमणबाट गाजाका ६० प्रतिशत भौतिक संरचना ध्वस्त भएका छन् । आक्रमणमा परेका ३ लाख ५ हजार घरमध्ये ५२ हजार पूर्ण ध्वस्त र २ लाख ५३ हजार घरहरूमा आंशित क्षति पुगेको छ । 

प्रतिक्रिया