विपिन जोशीको रिहाइको लागि कतार सरकारसँग परराष्ट्रमन्त्रीको आग्रह
परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा अवस्था अज्ञात रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन फेरि कतार सरकारसँग आग्रह गरेका छन । परराष्ट्र मन्त्रालयमा आज कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग विद्रोही हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका हुन । जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः युद्धविरामका कतार सरकारले पहल गरिरहेको जानकारी दिएका छन । साथै उहाँले नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागिसमेत प्रयास जारी रहेको बताएका छन । मन्त्री साउदले यसअघि मंसिर ८ गते कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग मन्त्रालयमा भएको भेटमा जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । यस्तै उनले मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गरेका थिए । परराष्ट्रमन्त्री साउदले डिसेम्बर १० देखि कतारमा सुरु हुन गइरहेको दोहा २१ औँ फोरममा सहभागिता जनाउने क्रममा हुने उच्चस्तरीय भेटमा जोशीको रिहाइको विषय कुरा उठाउने तयारी गरेका छन् ।
प्रतिक्रिया