एनसेल आजियाटाको आयकरसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

सर्वोच्च अदालतमा आज पेशीमा रहेको एनसेल आजियाटा लिमिटेडको आयकरसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ । ठूला करदाता कार्यालयले निर्धारण गरेको ५७.९ अर्ब रुपैयाँको आयकर बक्यौताको निर्णयलाई चुनौती दिँदै एनसेलले सर्वोच्चमा दिएको ‘उत्प्रेषण’को रिट स्थगित भएको हो । एनसेल आजियाटा लिमिटेडको मुद्दा आज सुनुवाइ नभएको हो । गोला प्रथा गर्दा मुद्दा स्थगित सूचिमा परेको हो । यो मुद्दाको अर्को पेशी फागुन १५ गतेलाई तोकिएको छ । मलेसियन कम्पनी आजियाटाले २०७२ सालको चैतमा एनसेलको ८० प्रतिशत शेयर १ अर्ब ३६ करोड ५० लाख डलर अर्थात् तत्कालीन समयमा करिब १ खर्ब ४३ अर्ब रुपैयाँमा मा स्वीडिस दूरसञ्चार कम्पनी टेलियासोनेरासँग खरिद गरेको थियो । यसरी खरिद बिक्री हुँदा कानूनबमोजिम सरकारलाई तिर्नुपर्ने पुँजीगत लाभकर नतिरेको भन्दै सरकारले एनसेलसँग नै ५७ अर्ब रुपैयाँ पुँजीगत लाभकर भराउने निर्णय गरेको थियो । सो निर्णयलाई चुनौती दिँदै एनसेलले सर्वोच्च पुगेको हो । मुख्य लगानीकर्ता मलेसियाको टेलिकम कम्पनी आजियाटाले गत शुक्रबार नेपालको एनसेलमा रहेको आफ्नो सम्पूर्ण शेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेपछि त्यसवारे छानविनको माग हुँदैछ । 
 

प्रतिक्रिया