अदालतले जारी गरेको पक्राउ पुर्जीको औचित्य छैन: नेत्रविक्रम चन्द विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जिल्ला अदालत काठमाडौँले आफूविरूद्ध जारी गरेको पक्राउ पुर्जीको औचित्य नभएको बताएका छन् । सोमबार एभिन्यूज पहल कार्यक्रममा प्रतिक्रिया दिँदै महासचिव चन्दले सरकारसँग भएको तीन बुँदे सहमति विपरित  अदालतले पक्राउ पुर्जी जारी गरेकाले यसको औचित्य नभएको बताएका हुन् ।
महासचिव चन्दले सहमतिलाई टुंग्याउन नदिने षड्यन्त्रमा केही तत्व लागिरहेको भन्दै त्यसमा नपर्न राज्यका निकायहरुलाई आग्रह समेत गरेका छन् । सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा चन्दसहित चार नेतालाई जिल्ला अदालत काठमाडौँले सोमबार ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी जारी हुनेमा महासचिव चन्दसहित पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा, माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्की रहेका छन् । त्यस्तै, राज्यविरुद्धको कसुरको अर्को मुद्दामा माइला लामा र चन्द विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मंसिर १० गतेको इजलासबाट भएको आदेश अनुसार जिल्ला अदालत प्रशासनले सूचना प्रकाशित गरेको हो ।  २०७६ असोज ९ मा दायर भएको मुद्दामा उनीहरुमाथि संघीय इकाइहरुबीच तथा विभिन्न जातजाति वा सम्प्रदायहरुबीचको सुसम्बन्धमा खलल पारेर राज्य विरुद्धको कसुर गरेको अभियोग छ ।
 

प्रतिक्रिया