नेत्रविक्रम चन्द सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी

जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द  सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरुलाई अदालतले आज ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनेको हो । जिल्ला अदालत काठमाडौंले सोमबार गोरखापत्रमा ३५ दिने सूचना प्रकाशित गरेको हो । सूचनामा नेकपाका महासचिव चन्द, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा, माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीको नाममा अदालतमा उपस्थित हुन भनिएको छ । त्यस्तै, राज्यविरुद्धको कसुरको अर्को मुद्दामा माइला लामा र चन्द विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मंसिर १० गतेको इजलासबाट भएको आदेश अनुसार जिल्ला अदालत प्रशासनले सूचना प्रकाशित गरेको हो ।  २०७६ असोज ९ मा दायर भएको मुद्दामा उनीहरुमाथि संघीय इकाइहरुबीच तथा विभिन्न जातजाति वा सम्प्रदायहरुबीचको सुसम्बन्धमा खलल पारेर राज्य विरुद्धको कसुर गरेको अभियोग छ ।

प्रतिक्रिया