लेखा समितिद्धारा एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा सम्बन्धित निकायसँग जवाफ माग

संसद्को सार्वजनिक लेखा समितिले एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री सम्बन्धमा चासो राख्दै सम्बन्धित निकायसँग जवाफ माग गरेको छ । समितिले आन्तरिक राजश्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई एनसेलको सेयर खरिद–बिक्रीका विषयमा ९ वटा प्रश्नसहित पत्र पठाएको हो । पत्रमा समितिले मलेसियन कम्पनी आजियाटाले आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेको भनी सम्झौता तथा प्रेस विज्ञप्ति निकालेको विषयमा आधिकारिकता के हो भनेर प्रश्न गरेको छ । साथै समितिले विदेशी होल्डिङ कम्पनीको स्वामित्वमा रहेको कम्पनीको शेयर खरिद बिक्री सेवा प्रवाह गरिरहेको देशको कानुनी व्यवस्था परिपालना गर्नुपर्ने, नपर्ने के हो भनेर समेत प्रश्न गरेको छ । समितिले सेयर स्वामित्व, कारोबार, राजश्व लगायतका विवरण यथाशीघ्र पठाउन भनेको छ । आजियाटालाई एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात् एक खर्ब ४४ अर्ब ७ करोड रुपैयाँमा बिक्री गरेको थियो । तर आजियाटाले अहिले स्पेक्ट्रेलाइटलाई खरिद गरेको भन्दा ९६.३४ प्रतिशतले घटाएर पाँच करोड अमेरिकी डलर अर्थात् ६ अबै रुपैयाँ मात्रै बिक्री गरेपछि त्यसमा ठूलो घोटाला भएको अनुमान गरिएको छ । एनसेलको शेयर खरिद बिक्री अपत्यारिलो मूल्यमा भएपछि छानविनको माग हुँदै आएको छ । 
 

प्रतिक्रिया