राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि पुस २३ गते उम्मेदवार मनोनयनपत्र दर्ता हुने
माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुने भएको छ । निर्वाचन आयोगले आगामी राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आवश्यक तयारी प्रक्रिया अघि बढाएको हो । आयोगले यही मङ्सिर ३० गते मतदाता नामावली प्रकाशन, पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने जनाएको छ । त्यसअघि मङ्सिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन हुने तालिका छ । राजनीतिक दल दर्ता भएपछि आगामी पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्य पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको प्रत्येक वर्ष निर्वाचन हुँदै आएको छ । आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनित एक गरी २० सदस्यको पद रिक्त हुँदैछ ।
प्रतिक्रिया