सरकारले अपराधीहरुको संरक्षण गरिरहेको छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको सरकार अपराध गर्नेको संरक्षक भएको बताएका छन् । नेकपा एमालेको संकल्प यात्राको सभालाई आज अछामको पञ्चदेवल विनायकमा सम्बोधन गर्दै उनले हत्या आरोपीलगायत अपराध गर्नेहरुको धमाधम मुद्दा फिर्ता लिन थालेको बताउँदै सरकार अपराधीहरुको संरक्षक भएको आरोप लगाएका हुन । अध्यक्ष ओलीले अहिले सरकारले हत्याका आरोपीको मुद्धा फिर्ता लिन सुरु गरेको दाबी समेत गरे । उनले गत स्थानीय तहको चुनावमा मारिएका विनोद शाहीलाई सहिद घोषणा गर्दै मान्छे मारेर चुनाव जित्नु घिनलाग्दो भएको टिप्पणी समेत गरे । 
२०७९ साल ३० वैशाखको स्थानीय तहको निर्वाचनका दिन बेपत्ता उनी जेठ २१ गते घर नजिकैको जंगलमा फेला परेका थिए । शाहीको हत्याको आरोपमा अहिले पनि केही मानिस हत्या आरोपमा पुर्पक्षका थुनामा रहेका छन् । एमालेको मध्यपहाडी लोकमार्गअन्तर्गत शुरु भएको समृद्धिका लागि संकल्प यात्रा चौथो दिन दैलेख पुगेको हो ।

प्रतिक्रिया