डुम्रेधारापानी भोर्लेनीका ६५ घर परिवार एउटा कुवाको पानीमा निर्भर

खोटाङको रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी भोर्लेनीका ६५ घर परिवार एउटा कुवाको पानीमा निर्भर रहन बाध्य छन् । साविक डुम्रेधारापानी–९ भोर्लेनीका स्थानीयले सदियौंदेखि गाउँको पुछारमा रहेको खानेपानीको मुहानको पानी बोकेर पिउन बाध्य भएका हुन् । कुवाबाट डोकोमा पानी बोकेर सिरान घरमा पुग्न डेढदेखि दुई घण्टासम्म लाग्ने गरेको स्थानीयहरुको भनाइ छ । विकल्प नहुँदा कुवामा बिहानैदेखि पानी लिन र नुहाउन जाने स्थानीयको भीड लाग्ने गरेको छ । मुहान सुक्ने याम बैसाखदेखि असारसम्म पानीका लागि बिहान तीन बजेदेखि नै लाइन बस्नुपर्ने वाध्यता रहेको छ । 
साविक डुम्रेधारापानी–९ कोसीखर्कमा पनि पानीको चरम समस्या रहेको छ । कोसीखर्कका स्थानीयले पनि एउटै कुवाको पानी उपयोग गर्दैआएका छन् । पानीको समस्या समाधानका लागि २०५२ सालमा ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे निपानेबाट पानी ल्याइएको थियो । तर, चार वर्षअघिदेखि पानी आउन छाडेपछि भोर्लेनी र कोसीखर्कबासी पुःन कुवा धाउन वाध्य भएका हुन् । डुम्रेधारापानीमा पिउने पानीको श्रोत व्यवस्थापनका लागि जरुवापानीमा रहेको मुहानलाई २०७७ सालमा विद्युतीय मोटरमार्फत पम्पिङ गर्दै गाउँमा निकालिएको थियो । तर उपभोक्ताले महसुल, उपकरण मर्मत लगायतका व्यवस्थापन गर्न नसक्दा लिफ्टिङ योजना अलपत्र परेको छ ।।  

प्रतिक्रिया