एनसेलको कार्यकारी प्रमुखलाई स्पष्टीकरण सोध्ने प्राधिकरणको तयारी

सेयर खरिद बिक्रीका सम्बन्धमा कानूनी व्यवस्था उल्लंघन गरेको भन्दै दूरसञ्चार प्राधिकरणले एनसेलका प्रमुख कार्यकारी अधिकृतलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ । दूरसञ्चार कम्पनी एनसेलमा रहेको ८० प्रतिशत सेयर बिक्री गर्ने सम्झौता सार्वजनिक भएपछि प्राधिकरणले स्वामित्व परिवर्तनका विषयमा चासो देखाएको हो ।  कुनै पनि दूरसञ्चार कम्पनीको ५ प्रतिशतभन्दा बढीको स्वामित्व परिवर्तन हुँदा वा नियन्त्रण परिवर्तन हुँदा त्यसको पूर्वजानकारी वा अनुमति प्राधिकरणबाट लिनुपर्ने व्यवस्था छ । एनसेलको सेयर बिक्री गर्ने खबर सार्वजनिक भएपछि नै प्राधिकरणले पत्र पठाएर यसका बारेमा अवगत गराएको थियो। तर खरिदबिक्री सम्झौता नै एनसेलका सीईओले सार्वजनिक गरेपछि भने कानूनी व्यवस्थाको परिपालना किन नगरेको भन्दै प्राधिकरणले स्पष्टीकरण माग गर्ने तयारी गरेको हो । सेयर खरिदबिक्रीको सम्झौता भएपनि नियम तथा कानूनअनुसार नियामक प्राधिकरणको अनुमति नलिएको बताइएको छ । अजियाटाले आफ्नो नियन्त्रणमा रहेको ८० प्रतिशत सेयर सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रोलाइटलाई बिक्री गर्ने सम्झौता भएको छ । स्वामित्व परिवर्तनका लागि भएको यो खरिदबिक्री सम्झौता विद्यमान ऐन नियम विपरित हुनुका साथै राजस्व छलिसँग सबन्धित देखिएको विज्ञहरुले बताउदै आएका छन । 
 

प्रतिक्रिया