आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइदैछ ।  ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता: अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा शुभकामना दिदै राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन अपाङ्गता अधिकारसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका छन । यसै अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपाङ्गता भएका व्यक्तिहरूको न्यायोचित सवालहरूलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरुको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुका साथै समाजको हरेक क्षेत्रमा र विकासमा उनीहरुको समावेशिताका लागि दिवस मनाउने गरिएको छ नेपालमा अपाङ्गता भएका व्यक्तिको अनुपात कुल जनसंख्याको २.२ प्रतिशत छ । राष्ट्रिय जनगणना  अनुसार पुरुष जनसंख्याको २.५ प्रतिशतमा र महिला जनसंख्याको २.० प्रतिशतमा अपाङ्गता रहेको छ । देशभरि ६ लाख ४७ हजार ७ सय ४४ जना अपाङ्गता भएका व्यक्ति रहेकोमा ३ लाख ५१ हजार ३०१ पुरुषहरू र २ लाख ९६ हजार ४४३ जना महिलाहरूमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ । अपाङ्गता भएका व्यक्तिमध्ये सबै भन्दा धेरैमा शारीरिक अपाङ्गता ३७.१ प्रतिशत रहेको छ भने १७.१ प्रतिशतमा न्यूनदृष्टियुक्त अपाङ्गता, ८.९ प्रतिशतमा बहुअपाङ्गता, ८.० प्रतिशतमा सुस्तश्रवण,६.४ प्रतिशतमा स्वर बोलाइसम्बन्धी अपाङ्गता रहेको छ ।। 

प्रतिक्रिया