केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

पोखरामा भएको केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेटको उपाधि मधेश प्रदेशले जितेको छ । शुक्रबार भएको फाइनल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेशले उपाधि जितेको हो । जितको लागि १ सय ३६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ रन बनायो । विवेक यादव १४ बलमा २ चौका र २ छक्कासहित २५ र सोमपाल कामी १५ बलमा १६ रनमा अविजित रहे । आर्मीका कप्तान विनोद भण्डारीले ३० बलमा ५ चौकासहित सर्वाधिक ३२ रन बनाए । मधेशका हरिशंकर शाहले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । प्रदीप पासवानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । प्रतिक यादवले ३ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । मधेशको जितमा विशाल पटेलले ३२ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४९ रनको अविजित इनिङ खेलेका थिए । प्रतियोगिताको च्याम्पियन टोली मधेश प्रदेशले पाँच लाख रुपैयाँ, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । यसैगरी उपविजेता त्रिभुवन आर्मी क्लबले दुई लाख ५० हजार रुपैयाँ, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।।

प्रतिक्रिया