इजरायली सेनाद्वारा गाजापट्टीमा पुन: स्थल आक्रमण
इजरायल र प्यालेस्टाइनी लडाकु समूहबीच लागू भएको अस्थायी युद्धविराम समाप्त भएसँगै इजरायलले आक्रमण गरेको छ । इजरायली सेनाले गाजापट्टीमा स्थल आक्रमण फेरि सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । इजरायलको हवाइ आक्रमणमा परी कम्तिमा ६ प्यालेस्टिनीको मृत्यु भएको छ ।शुक्रबार बिहान भएको आक्रमणमा परी गाजाको दक्षिणी क्षेत्रमा रहेको रफाह सहरमा उनीहरुको मृत्यु भएको हो । गाजाको उत्तरी क्षेत्रमा भएको हावइ आक्रमणमा २ बालबालिकाको मृत्यु भएको छ । हमासले युद्धविरामको सम्झौता भंग गरेको आरोप लगाउँदै इजराली सेनाले हवाइ आक्रमण सुरु गरेको हो । यो शत्रुताले पुनः निरन्तरता पाएमा सीमा क्षेत्रमा मानवीय संकट उत्पन्न भइ अत्यावश्यक वस्तुको अभाव हुने सम्भावना बढेको छ। इजरायली आक्रमणमा गाजा पूर्णरुपमा ध्वस्त भएपछि अन्तर्राष्ट्रिय समूदायको दबाबमा ६ दिनसम्म अस्थायी युद्धविराम लागू भएको थियो । युद्धविराम लागू भएको समयमा हमास र इजरायली सेनाले आआफ्ना कब्जामा रहेका बन्दीहरू रिहा गरेका थिए । सात अक्टोबरमा हमास लडाकुले इजरायली भूमिमा प्रवेश गरी आक्रमण गरेपछि मध्यपूर्वमा द्वन्द्व चर्किएको छ । इजरायली सेनाको आक्रमणमा परी प्यालेस्टाइनतर्फ १४ हजारभन्दा धेरैको मृत्यु भइसकेको र लाखौँ विस्थापित भएको छन । उता इजरायलतर्फ पनि १ हजार २ सयको मृत्यु भएको छ । सो क्रममा उसले दुई सय ४० जनालाई बन्धक बनाएको छ । तिमध्ये केहीलाई युद्धविरामको क्रममा छाडिएको थियो ।
प्रतिक्रिया