ठूला १७ वटा निर्माण कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले एकैपटक ठूला १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै निर्माण काम अलपत्र पारेको भन्दै व्यवसायीलाई कालोसूचीमा राखेको जनाएको हो । कालोसूचीमा राखिएका निर्माण कम्पनीहरुले अब १ वर्ष देखि ३ वर्षसम्म ठेक्का प्रक्रियामा भाग लिन पाउने छैनन्। ती कम्पनीहरुले यसअवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने सूचनामा उल्लेख छ । सडक विभाग अन्तर्गतको पुष्पलाल मध्यपहाडी राजमार्गको काम अलपत्र पार्ने सिरुवा कन्स्ट्रक्सन र पुष्पलाल राजमार्गको अर्को ठेक्कामा काम गर्ने भारत कन्स्ट्रक्सन, मैनाचुली निर्माण सेवा र सिद्धिसाई प्रकाश कन्स्ट्रक्सनलाई कालोसूचीमा राखिएको छ । यस्तै, वाणिगंगा नगरपालिकाको ४ वटा ठेक्कामा काम गर्ने साहनी बिल्डर्स, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको ठेक्कामा काम गर्ने आरडी सप्लायर्स तीन वर्षसम्मको लागि कालोसूचीमा परेका छन् । यसैगरी सडक डिभिजन भक्तपुरको दुई वटा ठेक्कामा काम गर्ने सुनौलो खिम्ती कन्स्ट्रक्सन, जुगल गाउँपालिकाको ३ वटा ठेक्कामा काम गर्ने एस कन्स्ट्रक्सन, कागेश्वरी मनोहराको ठेक्कामा काम गर्ने थापा निर्माण सेवा र ओम निलकण्ठेश्वर कन्स्ट्रक्सनलाई पनि कालोसूचीमा राखिएको छ । यस्तै, अन्य ठेक्काहरुमा काम गर्ने बैष्णवी एण्ड लोकेन्द्र सप्लायर्स, खहरेखोला इन्टरप्राइजेज, टिम बिल्डर्स, आईपी स्टेस्नरी एण्ड जनरल सप्लायर्स, सार्थक निर्माण सेवा, सयपत्री निर्माण सेवा र आरोग्य बिल्डर्स एण्ड कन्स्ट्रक्सन पनि कालोसूचीमा परेका छन । कालोसूचीमा परेको अवधिभर उनीहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।। 
 

प्रतिक्रिया