भुकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलो गरिदैन: गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई अस्थायी आवास निर्माणका लागि दोस्रो किस्ताको रकम दिन ढिला नगरिने बताएका छन । आज राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले पहिलो किस्ता बुझेर आवास निर्माणको काम शुरु गर्नासाथै बाँकी २५ हजार रुपैयाँ बैंकमार्फत दिइने बताएका हुन । उपप्रधानमन्त्री श्रेष्ठले उहाँले दुई किस्तामा दिइने भएपनि समयको ग्याप धेरै नहुने भएकाले एकै किस्ता दिए जसरी नै रकम प्रदान गरिने उल्लेख गरे । 
गृहमन्त्री श्रेष्ठले अस्थायी आवास निर्माणका लागि मात्रै ५ अर्ब रुपैयाँ चाहिने जानकारी दिए । पुनर्निमाणको सम्बन्धमा आँकडा बनाएर दाता राष्ट्रहरु र दातृ निकायहरु सँग छलफल गरी योजना बनाएर काम गर्ने उनको भनाइ थियो । गृह सचिव दिनेश भट्टराईले भुकम्प प्रभावित जिल्लामा आवास निर्माणका लागि १ अर्ब ५१ करोड रुपैयाँ पठाइएको जानकारी दिए । 
जाजरकोटमा पूर्ण क्षति भएको घरको संख्या ९ हजार ७९४ र आंशिक क्षति २४ हजार घरमा भएको मन्त्रालयले जनाएको छ । रुकुम पश्चिममा १६ हजार ५७० घर पूर्ण क्षति, ९ हजार ९६१ आंशिक क्षति हुनुका साथै १६ वटा सार्वजनिक भवन पूर्ण क्षति र २१ वटा आंशिक क्षति भएको जनाइएको छ । त्यस्तै रुकुम पूर्वमा १५० घर, सल्यानमा ६ सय  बढी घर, रोल्पामा १ सय बढी घर र प्युठानमा ३१ घरमा क्षति भएको छ । 

प्रतिक्रिया