त्रिभुवन आर्मी केपी ओली कप क्रिकेटको फाइनलमा

बागमती प्रदेशलाई चार विकेटले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब केपी ओली कप ट्वान्टी २० प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित आज भएको पहिलो खेलमा क्रिकेट मैदानमा बागमतीले प्रस्तुत गरेको १ सय २८ रनको लक्ष्य आर्मीले १५ ओभरमा ६ विकेट गुमाउँदै भेट्टाएको हो । आर्मीका लागि भीम सार्कीले ३९, कप्तान कुशल मल्लले २७, विनोद भण्डारीले २५ र सोमपाल कामीले अविजित १५ रन बनाए । बगामतीका लागि सन्दीप लामिछानेले दुई तथा प्रतिश जिसी, इशान पाण्डे, सोनु देवकोटा र रित गौतमले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय २७ रनको योगफल तयार पारेको थियो । बागमतीमका लागि प्रतिक श्रेष्ठले ५० रनको योगदान गरे । यसैगरी कप्तान सन्दीप लामिछानेले १९, रित गौतमले १४ र इशान पाण्डेले १२ रन बनाए । आर्मीका लागि शाहब आलमले चार, सोमपाल कामीले दुई र विवेक यादवले एक विकेट लिए । बागमती समूह ‘ए’ तथा आर्मी ‘डी’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए । आर्मीले उपाधिका लागि नेपाल एपिएफ क्लब र मधेश प्रदेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल शुक्रबार हुनेछ ।।

प्रतिक्रिया