इजरायल-हमास युद्धविराम थप एक दिन कायम रहने
इजरायली सेनाले हमाससँगको युद्धविराम थप एक दिन कायम रहने जनाएको छ । बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरूको प्रयासलाई ध्यानमा राख्दै युद्धविराम एक दिन थप गरिएको सेनाले जानकारी दिएको हो । दुवैतर्फ बन्धक तथा बन्दी रिहा गर्ने सहमतिमा गत शुक्रबारदेखि चार दिनका लागि युद्धविराम घोषणा गरिएको थियो । त्यसपछि पछिल्लो पटक दुई दिन युद्धविराम भएको थियो । दुवै पक्षको सहमतिमा त्यसलाई एक दिन थप गरिएको हो । युद्धविरामको छैठौं दिन गएराति हमासले १४ जनालाई रिहा गरेको छ । इजरायलका अनुसार रिहा भएकामध्ये १० जना इजरायली छन् भने ४ जना थाई नागरिक छन् । यता, इजरायलबाट भने ३० जना प्यालेस्टाइनी बन्दी रिहा भएका छन् । यसैविच अमेरिकी शीर्ष कुटनीतिज्ञ एन्टोनी ब्लिन्केन इजरायल पुगेका छन । अक्टोबर ७ तारिखमा इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्ध शुरु भएयता तेस्रो शीर्ष भ्रमणका क्रममा उनी तेल अभिभमा पुगेका हुन । ब्लिन्केनले गाजा पट्टीका लागि अस्थायी युद्धविराम विस्तार र मानवीय सहायता बढाउनेबारे पहल गर्ने बताइएको छ ।।
प्रतिक्रिया