नक्कली शरणार्थी मुद्दामा प्रतिवादीतर्फका कानुन व्यवसायीले जवाफी बहस गर्दै

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज मुद्दाका प्रतिवादीका तर्फका कानुन व्यवसायीले जवाफी बहस थालेका छन । प्रतिवादीका तर्फबाट कानुन व्यवसायीले जवाफी बहस सकेपछि उच्च अदालत पाटनले जिल्ला अदालतले गरेको थुनछेक आदेश सदर वा बदर गर्ने निर्णय गर्नेछ । प्रतिवादीको तर्फबाट बहस सकिए आज नै मुद्दाका प्रतिवादीलाई रिहा गर्ने वा मुद्दाको पुर्पक्ष गर्ने निर्णय सुनाउन सक्ने सम्भावना छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपीहरुले जिल्ला अदालत काठमाडौंले १ असारमा थुनामा पठाउन दिएको आदेशविरुद्ध उच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए । लामो समयपछि अदालतले निरन्तर सुनुवाइ गरेर जिल्लाको आदेश सदर गर्ने वा बदर गर्ने भन्ने निर्णय गर्न लागेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई पूर्वमन्त्रीसहित ३० आरोपितविरुद्ध चार वटा कसुरमा मुद्दा दायर भएको थियो । सो मुद्दामा मुछिएकाविरुद्ध ठगी, संगठित अपराध तथा राज्यविरुद्धको अपराधका साथै किर्तेमा समेत सजाय माग दाबी गरिएको छ । यो अभियोगमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीका नेता टेकनाथ रिजालसहित ३० जनालाई प्रतिवादी बनाइएको छ ।।
 

प्रतिक्रिया