एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान झुलाघाटवाट सुरु

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजदेखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ सुरु गरेको छ । तीन हप्ता लामो मध्यपहाडी लोकमार्ग अभियानको सुरुआत आज बिहान झुलाघाटबाट पार्टी अध्यक्ष केपी ओलीले गरेका हुन । एक हजार ८ सय ७९ किलोमिटर लामो लोकमार्गको यात्राको अध्यक्ष ओलीले झुलाघाटमा झण्डोत्तलन गरेपछि अभियानको सुरुआत भएको हो । अभियान शुभाम्भ गर्दै अध्यक्ष ओलीले मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानले अराजक र अस्थिर भएको राजनीतिकलाई सही बाटोमा ल्याउने विश्वास लिएको बताए । उनले सरकारी अकर्मण्यता र ओरालो लागेको अर्थतन्त्रलाई सही बाटोमा ल्याउने दाबी गरे । अभियानमा जनतासँग सघन सम्वाद गर्ने, प्राध्यापक, शिक्षक, राजनीतिक दलका नेता–कार्यकर्ता र विभिन्न पेसा, व्यवसायमा काम गरिरहेकाहरूसँग अन्तरक्रिया गर्ने पनि अध्यक्ष ओलीले बताए । फरकफरक भूगोल, वातावरण र हावापानीमा विविधतायुक्त विकासको पहिचान गर्ने पनि अभियानको ध्येय रहेको उनको भनाइ छ । अभियानको पहिलो दिनको सभा बैतडीको गोठालापानीमा गर्ने तय भएको छ । दोस्रो दिनको सभा सिलगढी, तेस्रो दिनको सभा मंगलसेनमा हुने एमालेले जनाएको छ ।  अभियान पाँचथरको चिवाभज्याङमा समापन हुनेछ । एमाले पुस २ गते काठमाडौं फर्कनेछ भने पुस ५ गते यात्रा सकिएको घोषणा गर्ने तयारी गरेको छ ।राष्ट्रिय एकताको आधार निर्माण गर्न अभियान चलाउनु परेको एमालेको भनाइ छ । पहाड समृद्ध नभई मुलुक समृद्ध नहुने भएकाले अभियान चलाउन थालिएको उसको भनाइ छ । नेकपा एमालेले आज मध्यपहाडी लोकमार्ग यात्रा सुरु गर्दै देशको बीच भागबाट पूर्व–पश्चिम जोड्ने यो लोकमार्गले छोएका जिल्लाहरूमा एमालेले विभिन्न कार्यक्रम गर्दैछ ।। 
 

प्रतिक्रिया