एनसेलबाट बाहिरिने आजियाटा समूहको घोषणा

नेपालमा भएको सम्पत्ति बिक्रीमा

नेपालको ठूलो दूरसञ्चार सेवा प्रदायकमध्येको एनसेलको मुख्य कम्पनी मलेसियाको आजियाटा समूहले नेपालबाट बाहिरिने घोषणा गरेको छ । नेपालको परिस्थिती चुनौतीपूर्ण बन्दै गएका कारण बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको आजियाटाले बताएको हो । एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको आज एक विज्ञप्ती जारी गरेर जानकारी दिएको हो । एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले आजियाटालाई १ अर्ब ३० करोड मलेसियन रिंगिट खुद घाटा रहेको विज्ञप्तिमा उल्लेख छ । नेपालमा एनसेलको व्यापार घट्दै गएका बेला आजियाटाले यस्तो निर्णय गरेको हो । सन् २०२२÷२३ मा एनसेलले ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । एनसेलले सन् २०२१÷२२ मा ३९ अर्ब ७२ करोड ५० लाख र सन् २०२०÷२१ मा एनसेलले ४० अर्ब ४२ करोड रुपैयाँको व्यापार गरेको थियो । आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले आज एक विज्ञप्ती प्रकाशित गर्दै नेपालबाट बाहिरिने भएसँगै कम्पनीको ८० प्रतिशत सेयर बिक्रीको प्रक्रिया थालेको बताएका छन् । उनले आजियाटाको कदम आजियाटालाई आफ्ना रणनीतिक प्राथमिकता पूरा गर्न अझ बलियो स्थितिमा ल्याउने विश्वास प्रकट गरेका छन । नेपालवाट बाहिरिने निर्णय कदम सबै लगानीकर्ताको दीर्घकालीन हितमा रहने पनि उनले उल्ेलख गरेका छन । एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व रहेको छ ।  बाँकी सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको रहेको छ ।  आजियाटाले बिक्री गर्ने सेयर नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यले किन्ने तयारी गरेको बताइएको छ । आजियाटाले सार्वजनिक गरेको त्रैमासिक प्रतिवेदनमा एनसेलको प्रतिफल घट्दै गएको र यसले गर्दा अजियाटाको समग्र वित्तीय विवरण प्रभावित भएको उल्लेख गरिएको छ । 

प्रतिक्रिया