जलवायु सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल यूएई जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल आज संयुक्त अरब इमिरेट्स यूएई जाँदैछन । उनी आज त्रिभुवन विमानस्थल हुँदै दुवईतर्फ प्रस्थान गर्ने तालिका छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन कोप–२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ जान लागेका हुन ।  सम्मेलन नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म यूएईको दुबईमा हुँदैछ । प्रधानमन्त्री डिसेम्बर १ र २ मा हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा सहभागी हुनेछन् । डिसेम्बर २ मा उनले सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री दाहाल संयुक्त अरब इमिरेट्सको ५२औँ ‘युनियन डे’को अवसरमा आयोजना हुने कार्यक्रममा पनि सहभागी हुनेछन् र  उनी यूएईले आयोजना गर्ने ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने मन्त्रालयले बताएको छ । सम्मेलनको ‘साइड लाइन’मा प्रधानमन्त्रीले विभिन्न देशका राष्ट्रप्रमुख, सरकारप्रमुख र उच्च पदस्थ व्यक्तिसँग वार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमण गर्नुका साथै नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय भएको छ । यस्तै नेपाल–यूएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ । प्रधानमन्त्री दाहालसँग छोरी गंगा दाहाल, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो र अन्य सरकारी अधिकारी पनि यूएई जानेछन् । प्रधानमन्त्री मंसिर १७ गते स्वदेश फर्किने तय भएको छ ।। 

नेपालका मुद्दा 

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले कोप–२८ मा जलवायु वित्तदेखि, पर्वतीय राष्ट्रका समस्या र हिमालका मुद्दालाई प्राथमिकता दिने भएको छ ।  नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा हुने सम्मेलनमा नेपालले जलवायु वित्तको मुद्दा उठाउने भएको छ। यसका साथै पर्वतीय राष्ट्रका समस्या र हिमालको मुद्दालाई नेपालले प्राथमिकतामा राखेको हो । नेपाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि यूएनएफसीसीसीको पक्ष राष्ट्र हो । महासन्धिको प्रावधानअनुरूप नेपालले जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नीतिगत, कानुनी तथा संस्थागत संरचना एवं वित्तीय व्यवस्था कार्यान्वयन गरेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयले सम्मेलनमा प्रस्तुत गर्नका लागि ‘राष्ट्रिय स्थिति पत्र’ तयार गरेको छ । कोप–२८ मा नेपालले जलवायु अनुकूलन र कार्यान्वयनमा प्रतिबद्धता जनाउनेछ । साथै मन्त्रालयले जलवायु परिवर्तन न्यूनीकरण, वातावरणीय हानिनोक्सानी, पेरिस सम्झौताको विश्वव्यापी प्रगति समीक्षा, पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान र सम्बोधनका विषय राख्ने तयारी छ ।यसैगरी सम्मेलनमा लैंगिक, स्थानीय समुदाय, आदिवासी, युवा, प्रविधि हस्तान्तरण, क्षमता अभिवृद्धिलगायत विषयलाई समेत प्राथमिकताका साथ उठाइने मन्त्रालयले जनाएको छ ।।
 

प्रतिक्रिया