तनहुँको घाँसीकुवामा बस दुर्घटना, दुई जनाको मृत्यु

धरानबाट पोखरा जाँदै गरेको बस आज बिहान तनहुँमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३४ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा धनकुटा साँगुरीगढीका ४५ वर्षिय हस्त राई र ठेगाना नखुलेका अन्दाजी ५० वर्षका टोकबहादुर मगर रहेका छन । राईको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र मगरको दमौली अस्पताल तनहुँमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते मध्ये ९ जनालाई उपचारको लागि पोखरा पठाइएको छ । अन्यको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।  धरानबाट पोखरातर्फ छुटेको ग १ ख ७८९५ नम्बरको बस पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान पौने ६ बजे सडकबाट अनियन्त्रित भई तल खसेर दुर्घटना भएको हो । प्रारम्भिक अनुसन्धान अनुसार बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया