सांसदहरू आत्म केन्द्रित र प्रचारमुखी भएको रास्वपाको निस्कर्ष

राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ले पार्टीका सांसदहरू आत्म केन्द्रित र प्रचारमुखी भएको निस्कर्ष निकालेको छ । आज बिहान महोत्तरीको जलेश्वरमा बसेको पार्टीको बैठकमा प्रमुख सचेतक सन्तोष परियारले प्रतिवेदन प्रस्तुत गर्दै सांसदहरूबिच सामूहिक कार्यको अभाव, सांसदबीच अनावश्यक प्रतिस्पर्धा, व्यक्ति केन्द्रीत प्रस्तुति, प्रचारमुखी चरित्र राजनीतिक बुझाइमा कमी र वैचारिक अस्पष्टता देखिएको उल्लेख गरिएको हो । पार्टीका सांसदहरूले दलीय व्यवस्थामा दलको भूमिका बुझ्न नचाहेको उनको भनाइ छ । पार्टीका सांसदहरूको प्रस्तुति अध्ययन  र अनुसन्धानमा आधारित रहेको सांसदले विषयवस्तुमाथिको गहिरो अध्ययन गर्ने गरेकाृे, सांसदहरूमा भाषाको पकड रहनुका साथै प्रविधिमैत्री पनि गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा सभापति रवि लामिछानेको नागरिकता प्रकरण र सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे पनि उल्लेख छ । राजनीतिक पार्टीहरूको घेराबन्दीका कारण सामान्य त्रुटि रहेको नागरिकता विषयलाई राजनीतिक रूपमा ठुलो मुद्दा बनाएर पार्टी सभापति र पार्टीमाथि आक्रमण गरिएको  प्रतिवेदनमा उल्लेख छ । उच्च राजनीतिक संस्कार प्रस्तुत गर्दै २०७९ पुस ११ गते सभापति रवि लामिछानेले आफू बहाल रहेको उपप्रधान तथा गृहमन्त्री पदबाट  राजीनामा दिएकोपनि प्रतिवेदनमा उल्लेख छ । सभापति लामिछानेको सांसद पदसमेत खारेज पछि उत्पन्न सङ्कटमा पार्टी एक ढिक्का भएको प्रतिवेदनमा परियारले उल्लेख गरेका छन ।  प्रतिवेदनमा गत वैशाखमा सम्पन्न उपनिर्वाचनमा प्रतिष्ठित अर्थशास्त्री डाक्टर स्वर्णिम वाग्लेको आगमनले पार्टीलाई थप उचाइमा पु¥याउन सकारात्मक भूमिका खेलेको उल्लेख गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक भोली सकिने छ । पार्टीको आगामी कार्यादेशबारे भने बुधबार मात्रै निर्णय लिइने नेताहरुले बताएका छन ।  बैठकमा प्रदेशका इन्चार्ज, महामन्त्री, केन्द्रीय सदस्य, सांसद, प्रदेशका सभापतिको पनि सहभागिता रहेको छ । 

प्रतिक्रिया