जाजरकोट भुकम्पपीडित सुत्केरी, ज्येष्ठ नागरिक चिसोको अत्याधिक मारमा

कात्तिक १७ गते राति रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् । त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखा परेको छ । भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ । पछिल्लो पटक भूकम्पबाट घर भत्किएपछि त्रिपालमुनि बस्दै आएकी जाजरकोट, नलगाड नगरपालिका ८ तल्लोसिमाकी सुत्केरी २५ वर्षीया शर्मिला चँदाराको चिसोबाट मृत्यु भएको छ । चिसोका कारण जाजरकोटमा सुत्केरीसहित १२ जनाको मृत्यु भैसकेको छ । भूकम्पबाट घरबारविहीन भएका सर्वसाधारण मौसम अनुकूल नहुँदा बिरामी पर्ने बढेका छन । पाँच वर्षमुनिका १२ हजार चार सय चार बालबालिका प्रभावित भएका छन् भने एक हजार आठ सय ८३ गर्भवती त्रिपालमा बस्न बाध्य छन् । त्यसैगरी एक हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा खुला आकाशमा बस्न बाध्य छन् । एक हजार आठ सय ३२ दीर्घरोगी, आठ सय ५० जना अपाङ्गता भएका व्यक्ति पनि समस्यमा छन् । पूर्णरूपमा १५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ भने आंशिक ५५ वटामा क्षति भएको छ । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युटको भूकम्प जाँदा १ सय ५४ जनाको मृत्यु भएको छ भने ३ सय ४६ जना घाइते भएका थिए ।। 
 

प्रतिक्रिया