इजरायल–हमासबीच गाजामा थप दुई दिन युद्धबिराम गर्ने सहमति

इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमास बीच गाजामा सुरु भएको चार दिने युद्धविरामको समयावधि सकिनै लाग्दा इजरायल र हमासबीचको ‘मानवीय विराम’ दुई दिन लम्बिने मध्यस्थकर्ता कतारले जनाएको छ । इजरायल र हमासबीच गाजामा सुरु भएको चार दिने युद्धविराम स्थानीय समय अनुसार मङ्गलबार सकिँदै थियो । कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले  जारी मध्यस्थताको एक भागको रूपमा, गाजा पट्टीमा मानवीय युद्धविरामलाई थप दुई दिन लम्ब्याउने सहमति भएको जानकारी दिएका हुन । यसैबीच, युद्धविरामको एक पक्ष हमासले केही थप शर्तसहित युद्धविराम विस्तार हुने सूचनालाई पुष्टि गरेको छ ।। चार दिने युद्धविरामको अन्तिम दिन हिजो हमासले ११ जना र आज बिहान इजरायलले थप ३३ प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । इजरायलको जेलबाट रिहा हुनेहरुमा ३० बालबालिका र तीन जना महिला रहेका छन् । सम्झौता अनुसार हमासले एकजना इजरायली बन्धक रिहा गरेबापत इजरायलले तीन जना प्यालेस्टिनी कैदीबन्दीको रिहा गर्ने सहमति थियो । सम्झौता अन्तर्गत हमासले अहिलेसम्म कुल ५० जना इजरायली बन्धकलाई रिहा गरेको छ । बदलामा इजरायलले आफ्नो जेलबाट १ सय ५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ । गएको अक्टोबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाको ज्यान गएको थियो । हमासले २ सय ४० जनालाई बन्धक बनाएको छ । यसको बदलामा इजरायलले गाजा क्षेत्र ध्वस्त बनाएको छ । गाजामा १४ हजार जनाभन्दा धेरैको मृत्यु भएको छ । ज्यान गुमाउनेमा ६ हजार जनाभन्दा धेरै बालबालिका रहेका छन् ।
 

प्रतिक्रिया