गणतन्त्रविरुद्ध भ्रम फैलाएर अराजकता सिर्जना गर्न खोजियो: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रबिरुद्ध भ्रम सृजना गर्ने प्रयास सफल हुन नसक्ने बताएका छन । आज छैटौं सामाजिक सुरक्षा दिवस समारोहलाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था बिरुद्ध केही कतैबाट प्रश्न उठाउने, समाजमा भ्रम सृजना गर्ने, अराजकता सृष्टि गर्ने कोशिस भएको उल्लेख गर्दै त्यस्ता प्रयास अगाडि बढ्नै नसक्ने बताएका हुन । प्रधानमन्त्री दाहालले इतिहास जहिले पनि अग्रगमनतिरै अगाडी बढ्ने दाबी गर्दै पछाडि फर्कनै नसक्ने बताए । 
प्रधानमन्त्री दाहालले यो परिवर्तनको बाहक राजनीतिक दल, शक्ति र व्यक्ति रहुन्जेल अग्रगमनको चक्कालाई कसैले पनि पछाडि फर्काउन नसक्ने बताएका हुन । प्रधानमन्त्री दाहालले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन र सफलतालाई सरकारले आफ्नो सफलताको रुपमा लिएको पनि बताए । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिँह भण्डारीले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न प्रक्रिया अघि बढाइएको जानकारी दिए । 
कोषका अनुसार हाल १८ हजार ४ सय ३९ रोजगारदाता र नौ लाख २८ हजार ४ सय ५३ योगदानकर्ता कोषमा आबद्ध छन् ।  कोषमा ५१ अर्ब २९ करोड रुपियाँ सङ्कलन भएको छ । कोषबाट औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनातर्फ ७६ करोड १२ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम करोड ७५ लाख र अवकाश दाबी रकम पाँच अर्ब ४८ करोड, ९६ लाख रुपैयाँ रहेको छ । यस्तै आश्रित परिवार सुरक्षा दाबी रकम १० करोड ९६ लाख रहेको छ ।
 

प्रतिक्रिया