मुर्रा राँगाको वीर्य वैशाखबाट नेपाली किसानले पाउने

नेपालमा भैँसीको नस्ल सुधारका लागि भारतबाट ल्याइएका मुर्रा राँगाको वीर्य आगामी वैशाखबाट नेपाली किसानले पाउने भएका छन । भारतले नेपाललाई उपहारस्वरूप उन्नत जातका १५ मुर्रा राँगा उपलब्ध गराएको हो । नेपाल ल्याइएका १५ मध्ये तीन राँगा लहान र पाँच नेपालगन्ज पठाइएको छ । राष्ट्रिय पशु प्रजनन कार्यालयमा रहेका राँगाहरुको स्वास्थ्य परीक्षण र वीर्य उत्पादनको चरण पार गरी किसानसम्म नस्ल सुधारका लागि मुर्राको वीर्य वैशाखबाट पठाउने तयारी छ । सबै राँगा दुईदेखि तीन वर्ष पूरा भएका छन । अब सात वर्षसम्म यी राँगाबाट स्वस्थ वीर्य निकाल्न मिल्ने पशु चिकित्सकको भनाइ छ । एउटा राँगाबाट वार्षिक १५ देखि २० हजार डोज वीर्य उत्पादन हुने अनुमान गरिएको छ । नेपाली भैँसीले एक बेतमा एक हजार पाँच सय लिटर हाराहारीमा दुध दिन्छन । मुर्रा भैँसीले भने एक बेतमा तीन हजारदेखि चार हजार पाँच सय लिटरसम्म दुध दिने बताइएको छ । एकातिर नस्ल सुधार भई अर्काे पुस्ताबाट दुध धेरै आउँछ भने तौलसमेत धेरै हुने हुँदा मासुकै लागि पनि फाइदा हुने पशु चिकित्सकको भनाइ छ । 

प्रतिक्रिया