आगामी वैशाखमा तेस्रो लगानी सम्मेलन गर्ने सरकारको निर्णय

सरकारले आगामी वैशाख ९ र १० गते काठमाडौंमा तेस्रो लगानी सम्मेलन गर्ने भएको छ । सरकारले लगानी सम्मेलन आयोजना गर्ने निर्णय गर्दै अर्थमन्त्रीको नेतृत्वमा सम्मेलन तयारीका लागि निर्देशक समिति गठन गरेको हो । आज सम्मेलन निर्देशक समिति बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले सम्मेलनमार्फत साना–साना लगानीकर्ताहरुलाई पनि जोड्ने उद्देश्य रहेको बताए । उनले आन्तरिक सम्भावित लगानीकर्ता,विदेशी लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई जोडेर जाने र सहज बनाउने प्याकेज ल्याउने बताए ।  
मन्त्री डाक्टर महतले लगानी सम्मेलनमा विदेशी लगानीको लागि मात्रै नभएर आन्तरिक र गैर आवासीय नेपालहरुको समेत लगानी जुटाउने योजना रहेको जानकारी दिए । लगानी सम्मेलनमा गैरआवासीय नेपालीहरुमार्फत लगानी गर्नेहरुलाई पनि ल्याउने उनले बताए । विदेशी राजदुतावासहरुलाई परिचालन गर्ने कुराहरु,नेपाली लगानीकर्ताहरुसँग जोडेर विदेशी लगानीकर्ताहरु ल्याउने पनि सरकारले जनाएको छ । निर्देशक समितिमा उद्योग, भौतिक पूर्वाधार, पर्यटन, ऊर्जा र सहरी विकासमन्त्रीका साथै नेपाल राष्ट्र बैंकका गभर्नरलगायतका सदस्य छन् ।
 

प्रतिक्रिया