शेयर बजारमा उच्च अंकले वृद्धि
साताको पहिलो कारोबारमा शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४७ दशमलव ७५ अंकले बढेर एक हजार नौ सय सात दशमलव ९५ विन्दुमा पुगेको हो । बजारसँगै आज कारोबार रकम पनि बढेको छ । ६५ लाख ३० हजार कित्ता शेयर दुई अर्ब एक करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् । यो पछिल्लो साढे महिनायताकै उच्च हो । गएको भदौ ३१ गतेयता कारोबार रकम दुई अर्ब रुपैयाँ पुग्न सकेको थिएन । आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ११ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सात करोड ५६ लाख ९४ हजार पाँच सय २१, नबिल बैंकको सात करोड ३७ लाख १२ हजार दुई सय ८० ,सिटिजन लाइफ इन्स्योरेन्स छ करोड ३४ लाख ८६ हजार तीन सय छ र आइएमई लाइफ इन्स्योरेन्सको पाँच करोड ९८ लाख ८३ हजार पाँच सय २४ बराबरको कारोबार भएको छ । आज सबै समूहको शेयर बढेकोमा जलविद्युत्, फाइनान्स, बीमा र व्यापार समूहको शेयर उच्च अंकले उकालो लागेको छ । आज छ्याङ्दी हाइड्रो, भगवती हाइड्रो र विजय लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ । सात वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । बजार हरियाली भएको दिन आज इन्फिनिटी लघुवित्त र एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्डको शेयर साढे दुई प्रतिशतले घटेको छ । आज २ सय १४ वटा कम्पनीको सेयरमूल्य बढेको छ । २३वटाको ओरालो लागेको छ भने तीन वटाको स्थिर रहेको छ ।।
प्रतिक्रिया