कोप सम्मेलनमा नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दाहरु उठाउने

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन अर्थात कोप–२८ मा नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । सम्मेलनमा नेपालले जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्तन न्यूनीकरण, जलवायु वित्त, हानी तथा नोक्सानी, पेरिस सम्झौताको विश्वव्यापी प्रगति समीक्षा, पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान र सम्बोधनका विषयलाई महत्वका साथ उठाउने तयारी सरकारले गरेको हो । सरकारले हानी नोक्शानी, नेपालको पर्वतीय क्षेत्र, अनुकुलन, जलवायुजन्य बसाईंसराई, न्युनिकरण र लैङ्गिक समावेशिता, युवा र आदिवासी  गरी ६ वटा विषयलाई प्रमुख एजेण्डा बनाएको विज्ञहरुले बताएका छन । 
यसैगरी सम्मेलनमा लैङ्गिक, स्थानीय समुदाय, आदिवासी, युवाको चासो र सरोकार, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिलगायत विषयलाई समेत प्राथमिकताका साथ उठाउने वन तथा वातावरण मन्त्री डा वीरेन्द्रप्रसाद महतोले बताए। मन्त्रालयले सम्मेलनमा प्रस्तुत गर्नका लागि उक्त विषयलाई समेटेर ‘राष्ट्रिय स्थिति पत्र’ तयार गरेको छ । कोप–२८ सम्मेलन यही मङ्सिर १४ देखि २६ गते सम्म संयुक्त अरब इमिरेट्सको दुबईमा हुँदैछ ।  सम्मेलनमा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर र वन तथा वातावरण मन्त्री महतोलगायत विज्ञसहितको उच्चस्तरीय सहभागिता जनाउने छ । प्रधानमन्त्री दाहाल सम्मेलनमा सहभागिताका लागि यही मङ्सिर १३ गते दुबई प्रस्थान गर्ने र मङ्सिर १७ गते स्वदेश फर्कने कार्यक्रम छ ।  प्रधानमन्त्री दाहालले सम्मेलनका क्रममा मङ्सिर १६ गते आयोजना हुने ‘उच्चस्तरीय सत्र’लाई सम्बोधन गर्नेछन् ।  यही मङ्सिर १५ र १६ गते  हुने ‘उच्चस्तरीय सत्र’मा विश्वभरबाट सम्मेलनमा सहभागी राज्य/सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया