डा. गोविन्द केसी मेडिकल माफियाबाट सञ्चालित भएको स्वास्थ्यमन्त्रीको आरोप

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वरिष्ठ चिकित्सक डा. गोविन्द केसी मेडिकल माफियाहरुद्वारा सञ्चालित भएको आरोप लगाएका छन् । राष्ट्रिय ट्रमा सेन्टरले शनिबार काठमाडांैंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले वरिष्ठ चिकित्सक केसीले मेडिकल गिरोहजस्ता गलत मान्छेहरुको फन्दामा परेर बेलाबेलामा अनसन बस्ने गरेको भन्दै त्यस्ता अभियानको बचाउमा नलाग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आग्रह समेत गरे । उनले नेपाल मेडिकल ‘शिक्षाको हब’ बन्ने शक्ति र वातावरण हुँदाहुँदै पनि केसी र मेडिकल माफियाहरुले त्यसो हुन नदिनका लागि मेडिकल कलेज थप सञ्चालन गर्न नदिएको आरोप समेत लगाए । उनले केसीको अभियानमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कारबाही गर्ने चेतावनी समेत दिए । 
मन्त्री बस्नेतले यथास्थितिमा ५ वर्षपछि मुलुकमा डाक्टर र नर्स खोज्दा पनि नपाउने स्थिति आउने भएकाले आफूले एक सयदेखि ३ सयसम्म शैय्या भएका सरकारी अस्पतालहरुमा नर्स र पारामेडिक्स पढाउने र त्यो भन्दा माथि शैय्या भएको अस्पतालमा एमबीबीएससम्मको पठनपाठन गराउने प्रश्ताव गरेको जानकारी पनि दिए । उनले आफूले स्वास्थ्य क्षेत्रमा विद्यमान जनशक्ति अपुग भएकाले त्यसको व्यवस्थापनको कामलाई पनि अघि बढाएको बताए ।

प्रतिक्रिया