बर्दियाको गुलरिया तुलापुरको एक घरमा गएराति आगलागी, चार जनाको जलेर मृत्यु
काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर चार स्थित तुलापुरमा आगलागीबाट चार जनाको मृत्यु भएको छ । कोठा न्यानो बनाउन राखिएको भाँडोबाट आगो फैलिएपछि तीन बालबालिका र एकजना महिलाको मृत्यु भएको हो । आगलागीमा परी अन्दाजी ७ वर्षीय कृष चन्द, १८ महिनाको कार्तिक चन्द, ९ वर्षीया मानसी बुढा र ३६ वर्षीया राधा बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । घटनामा २७ वर्षीया करिस्मा चन्द घाईते भएकी छिन् । करिस्माको बर्दिया अस्पताल गुलरियामा उपचार भैरहेको छ । भरत चन्दको घरमा आगो ताप्ने क्रममा एक्कासी आगलागी भएको स्थानीयले बताएका छन । आगलागीबाट एउटा कोठा पूर्ण रुपमा जलेर नष्ट भएको छ । घटनास्थल प्रहरीले नियन्त्रणमा लिइ मुचुल्का बनाएकोले अनुसन्धानबाट घटनाको थप बास्तविकता बाहिर आउने प्रहरीले जनाएको छ । आगो ताप्नका लागि राखिएको भाँडोबाट आगलागि भएको भन्ने कुरा आएको गुलरिया चारका वडा अध्यक्ष सुरेश गौतमले जानकारी दिए । आगलागी गएराती १० बजेतिर भएको हो । आगो स्थानीय, सुरक्षाकर्मी र बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
प्रतिक्रिया