प्रसाईको तीनकुने प्रदर्शनलाई अनुमति नदिएको प्रशासनको भनाई
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’लाई तीनकुने क्षेत्रमा कार्यक्रम गर्न अनुमति नदिएको जनाएको छ । प्रसाईंले शुक्रबारदेखि तीनकुने क्षेत्रमा कार्यक्रम गर्ने र निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएपछि प्रशासनले विज्ञप्ति निकालेर अनुमति नदिइएको जनाएको हो । प्रसाईंले गलत मनशायका साथ तीनकुने क्षेत्रमा कार्यक्रम गर्ने घोषणा गरेको भन्दै प्रशासनले सो क्षेत्रमा जबरजस्ती कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको छ । काठमाडौं प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानूनविपरीतका गतिविधि गरेमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ । हिजो बल्खुमा प्रदर्शनकारीहरू सामाजिक सद्भाव बिथोल्ने, कानून निषिद्ध, अराजक, हिंस्रक एवम् दङ्गा भड्काउने अभिव्यक्ति दिने, निषेधित क्षेत्र प्रवेश गर्न खोज्ने र सुरक्षाकर्मीमाथि आक्रमण गरेकाले पानीको फोहोरा र केही सेल अश्रुग्यासको प्रयोग गरी स्थितिलाई नियन्त्रणमा लिइएको प्रशासनले जनाएको छ ।
प्रतिक्रिया