इजरायल र हमासबीचको सङ्घर्ष विश्राम आजबाट सुरु

इजरायल र हमासबीचको सङ्घर्ष विश्राम आजबाट सुरु हुने भएको छ । स्थानीय समय बिहान ७ बजेबाट सङ्घर्ष विश्राम सुरु हुने मध्यस्थकर्ता कतारले जनाएको छ ।  पहिलो चरणमा १३ जना बन्दी आजै दिउँसो ४ बजे रिहा हुने बताइएको छ । सम्झौता अनुसार हमासले पहिलो चरणमा ५० बन्दी रिहा गर्नेछ । यस्तै इजरायलले १ सय ५० प्यालेस्टिनीयन कैदीलाई रिहा गर्ने सहमति भएको छ । गत अक्टोबर ७ मा हमलापछि हमासले करिब २ सय ४० बन्दी बनाएको इजरायलको दाबी छ ।  यसैबीच, इजरायलले अल शिफा अस्पतालका निर्देशकलाई छानबिनका लागि उत्तरी गाजा क्षेत्रबाट नियन्त्रणमा लिएको छ । उनको व्यवस्थापनमै अस्पताल क्षेत्रमा हमासले गतिविधि सञ्चालन गरेको प्रमाणहरु फेला परेका इजरायलको दाबी छ ।  हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामाथि इजरायलको आक्रमणमा हालसम्म १४ हजारभन्दा बढीको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ५ हजारभन्दा बढी बालबालिका रहेका छन ।

प्रतिक्रिया