कोप सम्मेलनमा पर्वतीय राष्ट्र समस्या समाधानमा दबाब दिइन्छ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले जलवायु परिवर्तन सम्बन्धी युएईमा हुने सम्मेलनमा पर्वतीय राष्ट्रहरूको समस्याबारे विश्वको ध्यानाकर्षण गराउने बताएका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले नेपालले उस्तै समस्या भएका पर्वतीय मुलुकहरुको समस्याहरुलाई रणनीतिक रुपमा उठान गरी पर्वतीय मुलुकहरुसँग सहकार्यको रणनीति बनाउन नेतृत्व गर्ने बताएका हुन । प्रधानमन्त्री दाहालले विकसित राष्ट्रहरूलाई जलवायु वित्त उपलब्ध गराउन, वित्त अनुदानमा बढोत्तरी र क्षति एवं नोक्शानीको विषय सम्बोधन गर्न समान परिवेश भएका देशले दवाव सिर्जना गर्ने बताए ।
प्रधानमन्त्री दाहालले सन् २०३० सम्म अनुकुलनका प्राथमिकता कार्यान्वयन गर्न नेपाललाई २१ बिलियन अमेरिकी डलर आवश्यक पर्ने बताए । कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा कार्वन उत्सर्जन शुन्य बनाउन कुनै चुनौति नरहेको बताए ।
मन्त्री महतले नेपालले जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न अक्सिजन धेरै उत्पादन गर्ने र कार्वन उत्सर्जन कम गर्नको लागि ४५ प्रतिशत भू–भाग जङ्गलका रुपमा स्थापित गरिरहेको दाबी गरे । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलवायु परिवर्तनको असर भोगिरहेका देशहरुले पाउने वित्तीय सहयोग दिन बाध्य बनाउनुपर्ने दोहो¥याए ।
मुख्यमन्त्री पाण्डेले विकसित राष्ट्रहरु अझैपनि पीडित देशहरुलाई गर्ने भनेको सहयोगका लागि आनाकानी गरिरहेको गुनासो गरे । जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा पीडित देशलाई सहयोग गर्ने सम्झौता गर्ने तर वित्त हस्तान्तरण गर्न आनाकानी गर्ने प्रणालीको अन्त्य गर्नुपर्ने सम्मेलनमा सहभागीको भनाइ थियो ।
प्रतिक्रिया