उपल्लो मुस्ताङको भ्रमण गर्ने पर्यटक संख्यामा बृद्धि
अर्धनिषेधित क्षेत्रको रुपमा रहेको उपल्लो मुस्ताङको भ्रमण गर्ने पर्यटकको संख्या बढेको छ । उपल्लो मुस्ताङमा सन् २०२३ को करिब ११ महिनाको अवधिमा तीन हजार जनाभन्दा बढी पर्यटक भित्रिएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ । २०२३ को जनवरीदेखि नोबोम्वर तेस्रो सातासम्म तीन हजार तीन सय ८८ पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन । यसवर्ष ३८ राष्ट्रका विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको एक्यापले जनाएको छ । अक्टोबर महिनामा सबैभन्दा बढी आठ सय १० विदेशी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन । सन् २०२१ मा छ सय दुई जना उपल्लो मुस्ताङ भ्रमणमा गएका थिए । २०२२ मा तीन हजार दुई सय १२ पर्यटक उपल्लो मुस्ताङ घुम्न गएका छन् । उपल्लो मुस्ताङ गएका विदेशी पर्यटक लोमान्थाङ गाउँपालिका–२ को छोसेरस्थित नेचुङबाट माथि जान पाउँदैनन् । मुस्ताङको कागबेनीदेखि मुस्ताङको उपल्लो क्षेत्रलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्र घोषणा गरेको छ । सन् २०२३ को जनवरीदेखि नोभेम्बर १८ सम्मको उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको तथ्याङ्क अनुसार २२ करोड ३६ लाख आठ हजार राजस्व सङ्कलन भएको छ । कलात्मक पहाड, उजाड मरुभूमि जस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्वका दरबार, गुम्बा, छोर्तेन, कोरला नाका उपल्लो मुस्ताङका आकर्षण मानिन्छन ।
प्रतिक्रिया