विश्वको सय प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्शना कपाली

बेलायती सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने सय महिलाको सूचीमा नेपालकी रुक्शना कपाली पनि परेकी छिन् ।  सन् २०२३ का लागि विश्वका विभिन्न देशका एक सय जना प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा यौनिक तथा लैंगिक अल्पसंख्यक अभियन्ताका रूपमा कार्यरत रुक्शना पनि परेकी हुन् । बीबीसीले सूची जारी गर्दै रुक्सानाले लैंगिक तथा यौनिकताका विविध आयामबारे आफैं सिक्दै गएको जनाएको छ । बीबीसीले सन् २०२३ का लागि विश्वभरीबाट एक सय जना प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । नेवा समुदायकी रुक्शना पारलैंगिक अर्थात ट्रान्सजेन्डर महिला हुन् । साथै नेपालमा लैंगिक अल्पसंख्यक समुदायको कानुनी तथा संवैधानिक अधिकारका लागि काम गरिरहेकी छन् । उनले त्रिभुवन विश्वविद्यालयमा स्नातक तहमा भर्ना हुन कानुनी लडाईसमेत लडेकी थिइन् । अधिकारका लागि उनले लडेको कानुनी लडाई र संघर्षलाई सम्मान गर्दै बीबीसीले यस वर्ष उनलाई विश्वका प्रभावशाली तथा प्रेरक महिलाको एक सय सूचीमा समावेश गरेको जनाएको छ । एक सय महिलाको सूचीमा मानवअधिकार मामिलाकी वकिल अमाल क्लूनी, हलिउड अभिनेत्री अमेरिका फरेरा, अमेरिकाकी पूर्व प्रथम महिला मिसेल ओबामा, ब्युटी बिजनेस सुरु गर्ने हुडा कातान र बलेन डि’ओर उपाधि जित्ने फुटबलर ऐताना भनमतिसमेत परेका छन् । सन् २०१३ यता बीबीसीले राजनीति, उद्यम, कला, साहित्य, सेवाजस्ता क्षेत्रमार्फत् महिला सशक्तीकरणमा महत्त्वपूर्ण प्रभाव पार्ने संसारभरका सय महिला छनौट गरी प्रत्येक वर्ष यस्तो सूची सार्वजनिक गर्दै आएको छ ।
 

प्रतिक्रिया