भुकम्प पीडित लाभग्राहीलाई अनुदान रकम प्रदान गर्ने प्रक्रिया सुरु

भुकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुममा भूकम्पपीडित लाभग्राहीलाई अनुदान रकम प्रदान गर्ने प्रक्रिया अघि बढेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयमा स्थानीय पालिकामार्फत पहिचान भएका भूकम्पपीडित लाभग्राहीलाई पहिलो किस्ता स्वरुप २५ हजार रकम अस्थायी वास निर्माणका लागि दिन लागिएको हो । रकम पठाउँदा स्थानीय तहको सिफारिसमा वितरण हुनेछ । भूकम्पका कारण निजी आवास पूर्णरूपले क्षति भएको वा आंशिक क्षति भएर पनि बसोबास गर्न योग्य नरहेका घरपरिवारलाई तत्काल अस्थायी आवास निर्माण गर्न अनुदान दिन लागिएको हो । दुई किस्तामा गरेर पचास हजार अनुदान दिने सरकारले निर्णय गरिसकेको छ । सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम सोमबार निकासा गरिसकेको छ । भूकम्प प्रभावित पाँच जिल्लाका लागि सरकारले एक अर्ब ४१ करोड रुपैयाँ निकासा गरेको छ । जाजरकोट र रुकुम पश्चिमका लागि ५०/५० करोड रुपैयाँ, बझाङका लागि २५ करोड रुपैयाँ, बाजुराका लागि १४ करोड रुपैयाँ र सल्यानका लागि दुई करोड रुपैयाँ रकम निकासा भएको छ । 
 

प्रतिक्रिया