चिसोका कारण थप एक भूकम्प पीडित शिशुको मृत्यु

जाजरकोटमा भूकम्प प्रभावित चिसोले थप पीडित भएका छन् । चिसोका कारण थप एक जनाको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनकी एक महिने छोरी निरुताको चिसोका कारण ज्यान गएको हो । जाजरकोट र रुकुममा चिसोका कारण ज्यान गुमाउने भूकम्प पीडितको संख्या १२ जना पुगेको छ । त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । भेरी नगरपालिका १ र २ मा मात्र २५ जनाभन्दा धेरै बालबालिका बिरामी परेका छन् । विनाशकारी भूकम्प गएको करिब दुई हप्ता बिते पनि अस्थायी टहरा नपाएपछि पीडितहरू त्रिपालमुनि बस्नु परेको छ । कात्तिक १७ गते मध्यरात गएको भूकम्पले घर भत्किएर घर वास विहीन भएका सर्व साधारण त्रिपालमुनि बस्नु परेको हो । सरकारले तत्काल अस्थायी टहरा निर्माण गरी पीडितलाई जाडोबाट जोगाउने प्रतिबद्धता गरे पनि टहरा निर्माणमा ढिलाइ भएपछि त्रिपालमुनिको बसाई राहतको एकसरो कपडाले भूकम्प प्रभावित क्षेत्रका जनतालाई रात बिताउन समस्या परेको छ । प्रशासनले भने राहत, उद्धार लगायतका काम सकिएकाले आगामी सात गते देखि अस्थायी टहरा निर्माणमा जुट्ने जनाएको छ । गत कार्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले जिल्लाका ६७ हजार भन्दा बढी व्यक्ति विस्थापित भएका छन् । पीडितहरू बढ्दो चिसोमा त्रिपालमुनि रात कटाइरहेका छन् । सरकारी तवरबाट भत्केका घरहरूको भग्नावशेष पन्छाउने काम  सुस्त भइरहँदा विभिन्न राजनीतिक दलले स्वयंसेवक परिचालन गरी भूकम्पमा भत्किएका घर तथा सरकारी कार्यालयबाट ढुङ्गा, माटो र काठहरू पन्छाइरहेका छन् ।। 

प्रतिक्रिया