रुकुम पश्चिममा जीप दुर्घटनामा घाइते दुई जनाको मृत्यु

रुकुम पश्चिममा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका दुईजनाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय  मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतीक बुढाको मृत्यु भएको हो । बालक बुढाको उपचारका निम्ति एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यानको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहरी अस्पतालमा मृत्यु भएको हो ।  दुर्घटनामा घाइते पाँचजनाको पनि अवस्था गम्भीर छ । गृह मन्त्रालयमा समन्वय गरेर काठमाडौंबाट हेलिकोप्टर आउन लागेको र त्यसमार्फत थप उपचारका निम्ति घाइतेलाई काठमाडौं पठाउने तयारी प्रशासनले गरिरहेको छ । आज बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदरमुकाम खलंगा जाने क्रममा चौरजहारी–८, गैरीजिउलामा लु १ ज २२९७ नम्बरको जीप दुर्घटनामा परेको थियो । जीपमा सवार चालकसहित २२ जना घाइते भएका थिए । जीप मध्यपहाडी राजमार्गअन्तर्गत गैरीजिउला सडकखण्डबाट भेरी नदीमा खसेको थियो । घाइतेको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ । जीपमा क्षमताभन्दा बढी मानिस सवार भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया