उत्पादन अनुसार खपत नभएपछि दुग्ध किसानको भुक्तानी रोकियो

बजारमा उत्पादन अनुसार खपत नभएपछि दुग्ध विकास संस्थान र नीजि डेरीले किसानलाई भुक्तानी रोकेका छन । दुग्ध विकास संस्थानले किसानबाट अहिले दैनिक करिब १ लाख ५५ हजार लिटर दुध खरिद गर्छ । तर बजारमा दैनिक १ लाख ५ हजार लिटर दुध मात्र बिक्री हुने गरेको छ । दसैं, तिहारजस्ता चाडमा पनि दुध खपत घटेपछि किसानबाट खरिद गरेको दुध व्यवस्थापन गर्न संस्थानलाई हम्मे परेको छ । दुध बिक्री नभएपछि संस्थानले ५० हजार लिटर दुधबाट धुलो दुध र बटर बनाउँदै आएको छ । दुग्ध संस्थानमा करिब ६५ करोड रूपैयाँको दुग्धजन्य वस्तु बिक्री नभएर स्टक छ । संस्थानले किसानलाई तिर्नुपर्ने ५५ करोड भुक्तानी गर्न ढिलाइ भएको जनाएको छ । दुध बिक्री नभएपछि नीजि उद्योगले पनि पनि दुधलाई धमाधम धुलो दुध र बटरमा परिणत गरिरहेका छन । उपभोक्ताको क्रयशक्तिमा ह्रास आउँदा दुध खपत घटेको बताइन्छ । दुग्ध विकास बोर्डले गरेको अध्ययनअनुसार दुध बिक्री नभएपछि निजी र सरकारी उद्योगमा करिब ९ अर्ब रूपैयाँको दुग्धजन्य पदार्थ स्टक छ । किसानले पाउनुपर्ने करिब ४ अर्ब रूपैयाँ भुक्तानी बाँकी रहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार नेपालमा दैनिक ६५ लाख लिटरसम्म दुध उत्पादन हुन्छ । 
 

प्रतिक्रिया