हमासले केही बन्धकलाइ अल शिफा अस्पताल लगेको इजरायलको दाबी

हमासले अक्टोबर ७ तारिखमा इजरायलमाथि गरेको हमलापछि बन्धक बनाइएकामध्ये केहीलाई गाजाको अल शिफा अस्पताल लगेको इजरायलले दाबी गरेको छ । अस्पतालको सिसिटिभी भिडियो सार्वजनिक गर्दै इजरायलले यस्तो दाबी गरेको हो । अस्पताल ल्याइएकामध्ये एक १९ वर्षीय सिपाहीलाई अस्पतालभित्रै हत्या गरिएको जिकिर सेनाको छ । इजरायलले भने भिडियोमा देखिएका इजरायली नागरिकको पहिचान खुलाउँदै अस्पताललाई हमासले अखडा बनाएको यो बलियो प्रमाण भएको जिकिर गरेको हो । अल शिफा अस्पताल परिसरमा हमासको सुरुङ फेला पर्नुका साथै भारी मात्रामा हतियार पनि बरामद गरेको सेनाको भनाइ छ । १० मिटर गहिरो उक्त सुरुङको निकासतर्फ भने पर्खाल लगाइएको भेटिएको सेनाको दाबी छ । हमासले भने सिसिटिभी भिडियोको आधिकारिकताबारे प्रश्न उठाएको छ । इजरायलले जारी गरेको भिडियोको प्रतिक्रिया दिँदै गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले उक्त फुटेजको प्रामाणिकता पुष्टि गर्न नसकेको बताएको हो ।  मन्त्रालयले इजरायलले गाजामा स्वास्थ्य सेवामा पु¥याएको क्षतिका लागि पूर्ण जिम्मेवारी लिनुपर्ने बताएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा ७ अक्टोबरयता मृत्यु हुनेको संख्या १२ हजार तीन सय पुगेको बताएको छ । दुई हजारभन्दा बढी मानिस भग्नावशेषमुनि पुरिएको दाबी छ ।
 

प्रतिक्रिया