चिसोले भुकम्पपीडित एघार दीर्घरोगी र वृद्धवृद्धाको मृत्यु

जाजरकोट भूकम्पमा ज्यान जोगाएका ११ जनाको चिसोका कारण मृत्यु भएको छ । भुकम्पछि विगत  १० दिनमा जाजरकोटमै ११ दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गएको हो । भूकम्पका कारण घरमा क्षति पुगेपछि हजारौं जाजरकोटवासी त्रिपालमा बस्दै आएका बृद्धबृद्धाले ज्यान गुमाएका हुन । ज्यान गुमाउनेमा बारेकोट गाउँपालिका–१, रामीडाँडाका ७० वर्षीय डुमे पुन, भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४, जिरीका ७९ वर्षीय नरेन्द्रबहादुर सिंह नलगाड नगरपालिका–४ का ७७ वर्षीय गोपालबहादुर रावल र ४८ वर्षीया पम्फा रावलले ज्यान गुमाएका छन् । चार जना दम रोगी हुन् भने ४८ वर्षीया फोक्सोको दीर्घरोगी हुन् । यस्तै बारेकोट गाउँपालिका–१, बयालाका ६० कर्णवीर विक, बारेकोट–६, ताँसीका ५५ वर्षीय वीरबहादुर विक र जुनीचाँदे गाउँपालिका–४, लुहादहकी  ८९ वर्षीया सुगिली नेपालीको पनि मृत्यु भएको छ । सुगली दमरोगी हुन् भने ६० वर्षीय र ५५ वर्षीय विकको ज्यान पखाला लागेर गएको हो । चिसोका कारण छेडागाड नगरपालिका–१३, थानवाडाकी ५६ वर्षीया मनसरी कामी, भेरी–४ का ५२ वर्षीय केशव भडेल र नलगाड–८, टापुकी ७० वर्षीया विष्णुकुमारी खत्रीको पनि ज्यान गएको छ । दमरोगी कामी र कलेजोको सिरोसिस बिरामी भडेल चिसोले मृत्यु भएको बताइएको छ । भूकम्पपछि त्रिपालमुनिको बसाइँले गर्दा दीर्घरोगी र वृद्धवृद्धाको निधन भएको जनप्रतिनिधिको भनाइ छ । त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन्। बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ। धेरै वृद्धवृद्धालाई खोकी र दम बढेको छ भने बालबालिकालाई कोल्ड डाइरिया, निमोनियालगायतका समस्या देखिन थालेको चिकित्सकहरुले बताएका छन । भूकम्पले जाजरकोट र रुकुमका ६० हजार बढी परिवारलाई त्रिपालमा पु¥याइए पनि आर्थिक रूपमा कमजोर वर्ग झन् प्रभावित भएका छन् ।
 

प्रतिक्रिया