भूकम्प पीडितलाई पहिलो चरणमा २५ हजार रुपैयाँ दिइने

सरकारले जाजरकोट र रुकुमका भुकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि पहिलो चरणमा २५ हजार रुपैया मात्रै दिने भएको छ । सरकारले भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी अवास निर्माण अनुदान कार्यविधि स्वीकृत गरि पहिरो किस्ता स्वरुप २५ हजार दिने भएको हो । त्यसपछि प्रक्रिया पूरा भएका र स्थानीय तहले बाँकी रकम दिन उपयुक्त छ भनी सिफारिस गरेका अस्थायी आवासका लाभग्राहीलाई अन्तिम किस्तामा २५ हजार रुपैयाँ उपलब्ध गराइने कार्यविधि तयार भएको छ । त्यसका लागि पनि स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले पहिचान तथा सिफारिस तथा  जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको स्वीकृति आवश्यक पर्नेछ । भूकम्प गएका बखत एउटै आवासमा बसोवास गरिआएका जतिसुकै परिवार भए पनि ती सबैलाई एउटै परिवार मानी एउटा मात्र अस्थायी आवास लाभग्राही कायम हुने पनि कार्यबिधिमा उल्लेख छ । कार्यबिधिमा अस्थायी आवास बनाउन सम्बन्धित स्थानीय तहलाई सहरी विकास मन्त्रालयले प्राविधिक सहयोग समेत उपलब्ध हुने उल्लेख छ ।  कात्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दू बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले १३ जिल्लाका ३५ हजार ४ सय ५५ घरमा आंशिक र २६ हजार ५ सय ५७ घरमा पूर्ण क्षति गरेको छ । 
 

प्रतिक्रिया