प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड २८ लाख रकम जम्मा

भूकम्प पीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड २८ लाख २९ हजार ३ सय पाँच रुपैयाँ जम्मा भएको छ । विभिन्न संघसंस्था र व्यक्तिहरूले कात्तिक १८ गतेदेखि मंसिर १ गतेसम्मको अवधिमा सो रकम कोषमा जम्मा गरेका हुन । जाजरकोट केन्द्रविन्दु भएर कात्तिक १७ गएको भूकम्पपछि प्रभावितहरूको सहयोगका लागि कोषमा रकम जम्मा भएको हो । भूकम्पले ठूलो जनधनको क्षति गरेपछि सरकारले भूकम्पपीडितहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न सर्वसाधरणलाई आह्वान गरेको थियो । त्यसपछि विभिन्न संघसंस्था र व्यक्तिहरूले कोषमा रकम जम्मा गर्दै आएका छन् । जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण संरचना भत्किँदा जाजरकोट र रुकुम पश्चिममा १ सय ५४ जनाको मृत्यु भएको थियो । भूकम्पले १३ जिल्लामा ६२ हजारभन्दा बढी घरमा क्षति गरेको छ। 

प्रतिक्रिया